मनपरेको लेख साभार गरेको छु

सभार : ई साहित्य नेपाल 


लघुकथाः डेराको घर -by महेश पौड्याल

बाआमाले गाउँमा धेरै दुख पाए भन्ने ठानेपछि सहरबासी छोराले भन्यो, “बुबु, मुमा । जौं, उतै सहरमै बसौं ।”
उसका दसौं आग्रह बूढाबूढीले नबोलेर टारिदिए । ढाड कुप्री परे पनि उनीहरू गाउँमै बस्ने अड्डी कसी नै रहे । लाचार छोरो हरेक वर्ष निराश भएर सहर फर्कन्थ्यो ।
तैपनि उसले आग्रह गर्न भने छोडेन । उसको पटक—पटकको आग्रहबाट आजिद भएपछि बूढाले भने, “छोरा, सहरमा तेरो घर छैन, कहाँ जाने?”
“बा, डेराको घर छ नि ।”
“के बस्नु डेराको घरमा । यत्रो उमेर आफ्नै घरमा बिताइयो ।”
निःशब्द भएर छोरो फर्कियो । आउँदो हिउँदमा उसकी आमा गाउँमै खसिन् । ऊ विक्षिप्त मुटु लिएर गाउँ गयो, र काज किरीया ग¥यो । अन्त्यमा फेरि उसले बुवालाई भन्यो, “बुवा, अब त जौं न सहर ।”
“छोरा, मैले भनेँ नि : डेराको घरमा मेरो मन मान्दैन ।”
यसपल्ट उसले मुटु कसरै भन्यो, “बुवा । यो धरती नै डेरा हो । यसमा बसेवापत पनि हामी आँसु, रगत वा पसिनाको तिरो तिरिरहेका हुन्छौ । यसले दिएको हावा पानी प्रयोग गरेवापत हामी आफ्नै उमेरको तिरो तिरिरहेका हुन्छौं । धरतीलाई तिर्ने उमेर आफूसँग नरहेपछि हामीलाई धरतीले पनि त निकालिदिन्छ नि आफ्नो घरबाट । हिँड्नोस्, जौं ।”
बूढाले धेरैबेर हेरे उनले नचिनेको आफ्नै छोरोलाई, अनि आँसु पुछ्दै सहमती दिए, “हिँड्, जौं ।”




कथा- सहयात्रा


बिक्रम बिबस 
०६० चैत्र १० गतेको त्यो विहान वेनीबजारको आकाशमा उदाएको घाम भयाक्रान्त युद्धले ओकलेको कालो बादलको थुप्राहरूसँग निरिह देखिन्थ्यो । बाटोभरि जताततै विष्फोटक पदार्थहरू छरपस्ट थिए । थोरै मान्छेहरू वाघको मुखबाट फुत्किएको पाठो झैं भत्केको अनुहार लिएर यताउता गरेका देखिन्थे । रातारात सुन्दर बजार खरानीको थुप्रोमा परिवर्तन भएको थियो । जलेका घरहरू ! पोलिएका मान्छेहरू ! रगतमा पाकेको माटोको अमिलो गन्ध ! यत्रतत्र छरिएका मान्छेका अङ्गहरू ! रगतले मात्तिएका वाघजस्ता सिपाहीहरू ! मैले हेर्न नचाहेर पनि देखेका थिएँ ति भयावह दृष्यहरू ।

पारिपट्टि जलेको पाखो धेरैपटक पलाईसक्यो तर युद्धले भत्काएको एउटा मन कहिल्यै पलाएन । त्यही कथा हो मेरो जुन तिमी बुझ्दैनौ अव । तिमी टाढा, धेरै टाढा छौ र कहिल्यै सार्थक भेट हुँदैन सायद । अझै पनि पड्किन बाँकी बाल्टिन बम, कुकर बम, सकेट बमहरूलाई ति कलिला खुट्टाहरूले पन्छाउँदै म त्यहाँ पत्रकारझै सहानुभूतिशून्य भएर रिपोर्टिङ् गर्न पुगेकी थिइनँ । त्यहाँ पुग्नुको पछाडि तिमी पनि थियौ एउटा कारण भनेर अब भन्नु बेकार छ ।

मेरा निजामती जागिरे बाबु ज्यूँदा होलान् कि युद्धको अग्नीमा भस्म भैसके भन्ने पीर थियो एकातिर मसँग भने तिनलाई तलमाथि भैहालेको रहेछ भने तिमीसँग टाढिनु पर्छ भन्ने पीर पनि म मूर्ख केटीसँग उत्तिकै थियो भनेर तिमीले अब पत्याउँदैनौ । कालीगण्डकीमाथिको झोलुंगे पुल अधिकाँश मैले उल्टो हिँडेर काटेकी हुँ त्यो दिन । तिमीलाई देख्दिनँ भन्ने थाहा हुँदाहुँदै पनि तिमीलाई पिठ्यूँ फर्काएर हिँड्न नसक्दाको त्यो पल अझै पनि मनमुटुमा खिल बनेर बसिरहेको छ । तिमी त पत्रकार बनेछौ । आफ्ना मनका कुण्ठाहरू दुनियाँसामु यो वा त्यो तरिकाले पोख्यौ र सायद हल्का छौ होला यतिबेला तर म त दिनदिनै आँसुले भिजेर गहु्रङ्गिएका तिनै थाङ्ना यादहरूसँग बाँच्न विवश छु... ।

बागलुङ् एफएम्बाट प्रसारित ‘गरिमाको गीतिकथा’ सुनेपछि एउटा पुरानो याद फेरि उकल्चिएर आयो । उसले अगाडि भन्दै थिई– ‘त्यसपछि के भयो? म किन तिमीले पढ्ने स्कूलमा पढ्न सकिनँ? किन तिमीलाई त्यसपछि नभेटी हिँडें? यि कुराहरू तिमीलाई सुनाउनुको अर्थ रहेन । परदेसीएका तिमीले सायद आफ्नो धरातल पनि विर्सिसक्यौ होला यतिखेरसम्म त !’ ऊ सुँक्कसुँक्क  गर्न थाली ।

मान्छेले आफ्नो पीडा विर्सन अर्कालाई घाउ बनाउन खोज्छ, उसले पनि अरुलाई धरातल विर्सिएको आरोप लगाएर आफ्नो पीडा शान्त गरी । एउटा तरङ्ग उत्पन्न गराई मनभित्र । उसले जे सुकै भनोस् आफ्नो नचाहेर पनि विर्सनु पर्ने र अर्काको चाहेर पनि लिन नसक्नुको पीडा म मात्रैको त कहाँ हो र ?

तर मैले बाँचेको धरातल चाहे जुनसुकै होस्, जव साँझपख चराहरुको चिरविर सुरु हुन्छ, जव मन्दमन्द वतास चल्दा शान्त पोखरीमा कमलको पातहरूले उत्पन्न गराउने दुर्लभ तरङ्गहरू किनारा नछुँदै विलाउँछन्, तिनीहरूले मैले छुन नसकेका उसका मुस्कानहरू ताजा गराएर मेरोअगाडि ओछ्याईदिन्छन् । म यतिवेला पनि उहि असाहाय, उहि किंकर्तव्यविमूढ, उहि लाचार, उहि नामर्द, उहि पानीमरुवा पाउँछु आफूलाई ।

अभिमानी दुनियाँको अघिल्तिर एउटा सानो जिन्दगी बाँचिदिन गरेका सवै बाहानावाजीहरू शिशिरको बूढो रुखबाट पातहरू खसेझैं निखारिएपछि एउटा असली ‘म’ देखिन्छु पोखरीको पानीमा । अनि ऊ आउँछे आँखा अघिल्तिर पोखरीका चञ्चल छालहरूको बीचमा सुन्दर कमलको पत्रदलहरू उघार्दै... । यस्तोबेला चराहरूको चिरविर, पानीको कलकल, समुद्रका छाल, चिसो वतास, फूलका कोपिला, पानीमुनिका भूरा सवै छुट्टै देखिन्छन् सधैभन्दा । दिमागमा भएका तनाव चिसो वतासले पखालेर फेरि नयाँ उर्जा थपिदिएजस्तो हुन्छ । म फेरि एउटा नयाँ मान्छे हुन्छु त्यसपछि । आशाका नयाँ मुनाहरू पलाउँछन् । फेरि जीवन रमाईलो र सुन्दर लाग्छ ।
ऊ वास्तवमै अत्यन्तै सुन्दर र शालिन थिई । उसको उमेर र स्वभावको बेमेल कताकता अनौठो लाग्थ्यो मलाई । चकचके उसका स्कूले साथीहरूमाझ ऊ मङ्गले फूलहरूको माझमा गमक्क फूलेकी सयपत्रीजस्ती देखिन्थी । उत्ताउला उसका साथीहरू उमेरसुहाउँदो चकचक गरिरहन्थे । ऊ भने जब हेर्थी आँखाका कुनै कुनाबाट पराग तप्प चुहिएर जाला कि भनेर डराउँथें म । गोधुलीमा विरानो गाँउको झुपडिको कुनै कुनामा एक्लै पग्लिरहेकी कहिल्यै नसकिने मैनवत्तीजस्ती । कसैले जलाएर विर्सिएकी झैं । पुतलीहरूले नहानेकी । वतासले नपीरेकी ।
मेरो स्मृतिपटमा अहिले पनि ऊ उस्तै कञ्चन, स्वच्छ, पवित्र छे । मलाई थाहा छैन मानिसहरूले सुन्दरताको परिभाषा कसरि लगाउँछन् । मैले बुझेको सुन्दरताको अर्थ सहि छ या गलत छ भनेर पनि थाहा छैन । तर उसलाई देखेपछि मैले सुन्दरताको परिभाषा बनाएँ या ऊ मेरो परिभाषा झैं थिई म स्पष्ट छैन । धेरै समयअघिकोे कुरा हो । तर म के कुरामा ढुक्क छु भने मजस्ता हजारौंले बनाएका सुन्दर स्त्रीमा हुनपर्ने गुणहरूले ऊ सुसज्जित छे । ऊ सृष्टिको सुन्दरभन्दा सुन्दर सिर्जनाहरूमध्येकी एउटी । मैले सँधै भन्छु मैले उसको सुन्दरताको बयान गरें भने ऊ नराम्री होली भनेर डर लाग्छ मलाई । चित्र बनाउने कला भगवानले मलाई दिएका भए उसले अर्काे दा भिन्ची जन्माएको श्रेय पाउँथी । म पनि दुनियाका भाग्यमानीहरूमा गनिन्थें ∕
हिजोजस्तै लाग्छ मैले पहिलोपटक स्पर्श गरेको उसलाई । शरदको मिर्मिरे साँझ, दसैं तिहारको उल्लास, मैले पिङ खेल्ने पालो सकिएपछि उसको पालो । पिङको लठो ठानेर उसको चञ्चल पाखुरी झुक्किएर समाएको सम्झँदा अझै पनि कताकता काँडा उम्रिएलाजस्तो हुन्छ मनमा । उसलाई भने मैले पाखुरी समाउनुको कुनै वास्ता थिएन / उसको वास्ता अन्यत्र कतै चिमोटिनबाट जोगिनु तिर हुदो रहेछ भनेर म लाटोले बल्ल चाल पाएको छु /  उसै त पर्वको उमङ्ग उसमा पनि उसले चढेको पिङले उसलाईभन्दा बेसी मेरो मनलाई मच्चाउँथ्यो । लठाहरू फट्टाएर साँझपख  उ मच्चिँदा पिङमा भन्दा बढी झट्का मलाई लाग्थ्यो । तर ऊ थाकेपछि पिङ रोकेर उसलाई ओराल्न अरु नै पुग्थे । म त्यति साहसी कहिल्यै हुन सकिन ।



परदेशमा रहेर पनि नेपाली रेडियो प्रायः सुनिरहने म मात्रै होइन होला । इन्टरनेटको साहायताले मैले मोवाईलमा सुनिरहेको रेडियो म चढेको रेलले गती लिँदा रोकिन्थ्यो र स्टेसन नजिक हुँदा चर्किन थाल्थ्यो । कामबाट फर्कंदै गर्दा सुन्दैथिएँ म उसलाई । रेडफर्न र स्ट्राथफिल्डको बीचमा रेडियो अस्पस्ट भैरह्यो । स्ट्राथफिल्ड स्टेशन पुगेपछि ऊ फेरि बोली– ‘एकवारको जीवनमा घुम्तीहरू अनेकवार आउँदा रहेछन् । घुम्तीहरूमा अगाडि हिंडिरहेको मान्छे पनि पछाडि फर्किएकोजस्तो देखिँदो रहेछ । पछाडि फर्किंदा पनि बोलाउने आफन्तहरू हुन् भनेर बल्ल बुझेको छु मैले । तिमी त सँधै पराई भएका आफन्त मेरानिम्ति । के मर्दा मलामी जानुमात्रै आफन्तको अर्थ हो तिम्रा लागि ?’

उसको दार्शनिक प्रश्नले मेरो टाउकोदेखि पैतालासम्म एउटा अनौठो कम्पन उत्पन्न गराएर गयो मानौं यतिबेला ऊ मेरो आँखाअगाडि सशरिर उपस्थित थिई र मलाई गल्ती गर्दागर्दै रङ्गेहात समातेर झपार्दै थिई । म अक्क न बक्क परें उतिबेला जस्तै । जव ऊ मेरोसामु हुन्नथी, मैले धेरैथरिका योजनाहरू बुन्थें । जव सामु ऊ हुन्थी, सबैकुरा पुगेर आएजस्तो लाग्थ्यो, भन्ने कुराहरू आफै विलाएर जान्थे । भगवान् स्वयम् अगाडि पाएको तपस्वीजस्तो !
एउटा साँझ थियो । ठूलै साहस निकालेर भनेको थिएँ उसलाई– ‘यू आर माई गुडेस्ट फ्रेन्ड ।’ उ मु्सुक्क हाँसेकी थिई । साह्रै मीठो लागेको थियो उसले हाँसेको मलाई । त्यही हाँसो मेरो प्रेमको स्वीकारोक्ति ठानेर लामै समय मीठो भ्रममा ढुक्कले बाँचेको थिएँ म । भोलिपल्ट उसले पनि मेरा साथीहरूको माझ मलाई ‘यू आर माई गुडेस्ट फ्रेन्ड’ भन्दै फेरि हाँसेकी थिई । तरुनी फकाउन कनीकुथी बोलेको अँग्रेजी सुनेर ऊ हाँसेकी रहीछ भन्ने मैले धेरै पछि बल्ल थाहा पाएको हुँ । उसलाई त ‘यू आर माई वेष्ट फ्रेन्ड’ कन्ठ थियो । उसले दिनमै धेरै पटक सुन्दी हो त्यो वाक्य भनेर अहिले म अनुभूत गर्नसक्छु । तर जुन भाषा बोले पनि मैले भन्न खोजेको उसले बुझेकी हो । भनेको बुझे भैगयो नि । मलाई लाज लाग्दैन अझै पनि ।
परदेसमा आफूले पार गरिरहेको समय उत्तिकै अनौठो छ वर्तमानमा पनि । अनौठो संक्रमण चलिरहेको छ जिन्दगीमा । काम गर्दागर्दै मेनेजरले बोलाउँदा हिजो मैले ‘हजुर’ भनेँ । नजीकैकी नेपाली सुपरभाईजरले म झुक्किएकोमा लाज मानी । मलाई कताकता सङ्कोच लाग्यो उसको । फेरि मैले सोचें– जति अंग्रजी बोले पनि, सुने पनि आखिर म बुझ्छु नेपालीमा । मेरो यथार्थ यही हो । मैले गर्व गर्नसक्ने धरातल यही हो । दुइचार पंक्ति अङ्ग्रेजी बौल्दैमा ठूलो भएको सोच्ने मानसिकतामाथि कताकता दया पलाएर आयो मनमा ।

 मनबाट सङ्कोच हटेर छर्लङ्ग भएपछि आफ्नो विर्सनुमा अनि अर्काको अनुकरण गर्नुमा गौरव कसरी गर्ने हो भनेर मैले मेरी सुपरभाईजरबाट जान्न खोजिनँ । मनमनै हाँसो उठेर आयो । फेरि उसले बोलाई मलाई, नसुनेकोजस्तो गरिदिएँ । के म अर्काको खरवारीमा चोर्न पसेको गोरु हो जतिबेला पनि तर्सिनुपर्ने?
‘तिमीलाई व्यहोर्न गाह्रो छ... ।’ रेडियो फेरि बज्न सुरु ग¥यो । ‘...तिम्रा बैगुनहरूले भरिएको एउटा किताव लेख्न मन छ मलाई ।’ ऊ बगिरहेकी थिई र उसको वाण निशानामै लागेको थियो आज । उसको सफलतामा म कताकता खुसी भएँ । आफैलाई वाण लागेर खुसी हुने अनौठो क्षण जिन्दगीमा भाग्यमानीहरूलाई मात्र विरलै उपलव्ध हुँदोरहेछ । खुसीले हाँस्न खोज्दा ऐनामा मेरो प्रतिविम्व पनि हाँस्यो । उसको हाँसो सहज नदेखिएपछि मैले हाँसेको मिलेन भनेर थाहा पाएँ मैले ।

मनमा कताकता अप्ठ्यारोमा परेकी ऊलाई सबै दोष थुपारेर म टाढीएको रहेछु भन्ने मीठो आत्मग्लानीले पोल्यो । तर त्यो ग्लानी निमेषभरको थियो मेरो लागि । सम्झें– उसको गीतिकथाको ‘तिमी’ म नहुन पनि त सक्छु ! आज पनि फेरि भ्रममा परें कि भन्ने मनमा आएपछि आफूभित्रको मूर्खताको मापन गरें मनमनै । तर ऊ आफ्ना सिर्जनाहरूमा अरुलाई आरोपित गर्नसक्ने गरी कलम चलाउन सक्ने भईछ भनेर म साँच्चैको खुसी भएँ । ऊ भने कथाको अन्त्यमा परदेसीहरूलाई घर फर्कन आग्रह गर्दै थिई । भन्दै थिई ऊ अझै कुनै परदेसीको व्यग्र प्रतिक्षामा छे । म पनि किनकिन मैले यात्रा गरिरहेको ट्रेन मलाई घर पुराउने विमानस्थलसम्म पुग्नसक्छ भनेर वास्तवमै तरङ्गित छु यतिबेला ।

सभार बिक्रम बिबस को ब्ल्ग बाट 

==============================================================================

दसैँ र चंगा
श्रीकमल द्विवेदी


हामी सानो छँदा दसैँको आएको संकेत आकाशमा उड्ने चंगाहरुले दिन्थे। भदौ महिनाबाटै आकासमा चंगा देखिन्थे। हाम्री हजुरआमा भन्ने गर्नु हुन्थ्यो, चंगा उडाउनु भनेको ईन्द्रलाई पानी पुग्यो अब भनेर पठाउने सन्देश हो रे । त्यसैले धानमा गेडा नपस्दै चंगा उडायो भने किसानहरु रिसाउँथे रे।
दसैँको आगमन सँगै चंगा उडाउने तयारी सुरु हुन्थ्यो हाम्रो। चंगा उडाउने र लडाउने एउटा सिंगै उल्लास हुन्थ्यो । अहिले जस्तो तयारी माँजा लगाएको धागो बजारमा हुँदैन थियो, केही त हुन्थ्यो तर आफूले माँजा लगाएर बनाए जति धारिलो हुँदैन थियो । यस्ता धागो अलि महँगो हुन्थ्यो।
माँजा लगाउने सामानहरुको खरिददारी सुरु हुन्थ्यो, कुखुराको भाले छाप धागोबाट। त्यसपछि काँचको धुलो (खाँची), आरारोट, सरेश, रामतोरिंया, घ्युकुमारी, साबदाना आदी हालेर पकायो। काँचको धुलो बनाउन जलेका चीम कुटेर धुलो पनि बनाउँथे कसैकसैले। घरको खाना पकाउने भाँडामा माँजा लगाउने समाग्री पकाउन पाईँदैन थियो, कुनै टिनको ट्याकको खोज्नुपर्थ्यो । पहिले नै भेट्टाएको बेलामा ट्याकलाई लुकाएर राखिन्थ्यो। घरको भाडाँमा पकाउन सर्त हुन्थ्यो, सरेश हाल्न नपाउने र पछि माझेर टिलिक्क पारिदिनु पर्ने। सरेस त्यो बेला काठ जोडन प्रयोग हुन्थ्यो, मोबिकल आएको थिएन, र सरेस गाई भैंसीको खुरबाट बनाईन्छ भनिन्थ्यो, त्यसैले खाना पकाउने भाँडामा पकाउन पाईँदैन थियो।
सबै सामाग्री हालेर पकायो, त्यसपछि एउटाले धागोको रिलमा लठ्ठी घुसारेर समायो, अर्कोले लट्टाँईमा बेर्न थाल्यो, बीचमा बसेर एउटाले हातमा केही तातो माँजा लिएर धागो समाएर बस्यो। कम्तिमा पनि तीनजना चाहिने।
अब माँजा लगाउन सक्किए पछि सुकाउन दुई बिजुलीको लठ्ठालाई बेरेर केहि घण्टा कुर्नु पर्थ्यो। कहिलेकाँही यसरी सुकाउन नपाउँदा चंगा उडाएर सुकाउँथ्यौं। तर यसरी सोझै चंगा उडाउँदा अर्कोले लडाउन आउने हुँदा नसुकेको माँजामा धार बसिसकेको नहुने हुँदा काटिने सम्भावना हुन्थ्यो। तर सुकेपछि त भर्खर सुकाएको माँजाले अरुको चंगा काटिई हाल्थ्यो।
मेरा दौंतरीहरु आफ्नै दाईहरु (सानिमाका छोराहरु) हुन्थेँ - रबि र कान्छा  (रबिन्द्र), अर्को सदस्य थियो बालसखा बिल्टु। रबि हामी मध्यको सबैभन्दा जेठो भएकोले उ नै यो प्रोजेक्टको लिडर हुन्थ्यो । म चाँहि चंगा उडाउन मन गर्ने तर राम्रो संग उकास्न नसक्ने, उकासेको चंगालाई उडाएर रमाईलो लिने । चंगामा पुच्छर हालेर पनि उडाउँथ्यौ। पुच्छर हालेको चंगा लडाउँदा सजिलै काटिन्थ्यो, तर उडाईरहन चाँही सार्‍है सजिलो।
चंगा च्यातियो भने टास्ने गम हुन्थ्यो- भातको सिता वा भुरुङ (प्याजी फुल फुल्ने पान बुट्टे लहरा) को पात।
घरहरु अहिले जस्ता अग्ला नहुने हुँदा घरको छतबाट चंगा उकास्यो, वरिपरि अरुको चंगा आउने बित्तिकै लडाउन थाल्यो। फुईँ हान्दै आफ्नो धागोले अर्कोको धागो माथिबाट रेट्न कोशिस गर्‍यो। माथि धागो पर्दा लडाउँदै जाँदा चंगा तल गयो भने माथि उठाउन सजिलो हुन्थ्यो। आफूले धागो बेर्दा भन्दा छोड्दा रेटिने हुँदा अर्कोको चंगा काटिन्थ्यो। चंगा घुमाउँदै धागो छोड्दा बेग संग धागोले रेट्थ्यो, तर चंगा तल तल जान्थो, धेरै तल गएपछि भने आफुले बेर्‍यो भने काटिने सम्भावना हुँदा चंगालाई दायाँ-बायाँ गर्दै धागो छोड्नु पर्थ्यो। अरुको चंगा काटियो भने “चेट”  भन्दै उफ्रिन्थ्यौँ, आफ्नो काटियो भने निन्याउरो मुख लाउँदै लट्टाईँ बेर्न थाल्थौं।
चंगा चेट गराउने एउटा ठुलै लडाईँ हुन्थ्यो। आफुले काटेको चंगाको गन्ती हुन्थ्यो। आकासमा कसैले काट्न नसकेर उडाउँदै बस्नु गर्वको कुरा।
आकासमा अनगिन्ती चंगा हुन्थे, अनेक रंग र बुट्टामा । बुट्टा अनुसारका नाम हुन्थ्यो। त्यही नामले बोलाउँदै चिच्याउँथ्यौ। बुट्टा अनुसारको नामले नै उडाउनेको परिचय दिन्थ्यो।
हामी भूराहरुको अर्को काम काटिएका चंगा र धागो लुट्ने हुन्थ्यो। लुटेको धागो गाँस्दै चंगा लडाउँदा गाँठोमा अड्किएर काटिने हुँदा लडाउन प्रयोग नभए पनि उडाउन मात्र त केही काम लाग्थ्यो। धेरै त लुटेको धागो अल्झेर गुजुल्टो पर्थ्यो तर पनि लुट्न दौडिन्थ्यौं। खेत र बारी दौडिंदै चंगा लुटनु पनि खुब रमाईलो हुन्थ्यो।  न्युरोड क्षेत्रबाट लडाउँदा काटिएको सैयौं चंगा टुँडिखेलमा आउने हुँदा लठ्ठी बोकेर केटाकेटी लुट्न दौंडिरहेका हुन्थे। धेरै चंगा लुट्न सफल केटाहरु लुटेको चंगाको चांग पारेर मख्ख पर्दै फर्किन्थे ।
पहिले घरहरु एकै खाले समान २-३ तल्ला मात्र अग्ला हुने हुँदा छानामा वा कौशिमा बसेर उडाउन सकिन्थ्यो। शहर बिस्तारको क्रममा घरहरु अग्ला बन्दै र बाक्लो बस्ती बिस्तार हुँदै जाँदा चंगा उडाउन गार्‍हो हुँदै गयो। अहिले त चंगा उडाउने ठाउँ पाउन पनि गाह्रो भइसकेको छ। मनोरञ्जनका अरु साधनहरु धेरै भएर पनि होला अहिलेको पुस्तामा चंगा उडाउनेहरुको संख्या धेरै कम हुँदै गएको छ। चंगा उडाएर रमाईलो गर्ने हाम्रो पुस्तालाई भने ती दिन सम्झदाँ पनि भित्रै देखि उल्लास लाग्छ ।

No comments: