Friday, May 29, 2015

निधारको रातो टिका जस्तै राम्रो !! टिका सर हाम्रो

"शिक्षक एउटा मैन बत्ती हो जस्ले आफु जलेर अरुलाई उज्यालो दिन्छ"

हो मैनबत्ती जस्तै आफु जल्दै धेरै लाई उज्यालो दिने एक पात्र आज मेरो मेरो आँखा मा झलझली घुमिरहनु भएको छ शायद मेरो मात्र हैन धेरै को आँखामा । म्याग्दी जिल्लाको ज्यमारुककोट गाबिस  (हाल को बेनी नगरपालिका ३ मा) अबस्थित श्री अर्जुन उच्च माध्यामिक बिधालयका आदरणिय गुरु टिका कार्की ज्यु जो हालसालै आफ्नो लामो शिक्षण पेशा बाट सेवा निवृत हुनु भएको छ । मास्टर शायद दुनियाँ को नजर मा मात्रा एउटा मास्टर होला तर तिनै मास्टर बिध्यार्थीको नजर मा सधैं एउटा हिरो हुन्छ तर यो सबै मास्टर नाम ले मात्र प्राप्त गर्न सक्दैनन जस्ले आफ्नो कर्तब्य लाई बोध गर्दै सधैं आफुले चक डस्टर घोटेर धुलो खाँदै अरुलाई धुलो खानु हुँदैन स्वास्थ्यको लागि हानिकारक छ भनेर सिकाउछन वा बुझाउछन तिनिहरु नै वास्तव मा हिरो कहलाउछन । तिनै धेरै हिरोहरु मध्य एक हिरो अर्थात समस्त ज्यामरुककोटबासिको हिरो हुन सफल हुनुहुन्छ आदरणिय गुरु टिका कार्की । 

बि सं २०४४ साल मा ७ बर्षाको उमेर मा क ख सिक्न म घरको नजिकैको त्यही स्कुल पुगे जहाँ टिका सर ले पढाउनु हुन्थ्यो । त्यती बेला हाम्रो गाउ मा अर्जुन निमाबी थियो पछी २०४५ सालमा मा बि हुँदै हाल उच्च माबी तहको पढाई हुने गर्दछ । स्कुल को यो परिबर्तित रुप सानो दु:खले प्राप्त भएको पक्कै हैन ज्यामरुककोटका जनता समाजसेबीहरु तथा टिका सर हरु जस्ता लगनसिल स्थानिय शिक्षकहरु जस्ले निरन्तर उच्च सेवा प्रदान गरिरहे त्यसैको स्वरुप आज गाउमै उच्च शिक्षा प्राप्त छ ।  चक्लेटी अनुहार अग्लो जिउ मिठो मुस्कान निडर स्वभाब अनी प्रस्ट बोली का धनी आदरणिय गुरुको अध्यापनको रस मैले कक्षा ६ मा पुगे पछी मात्र चाख्न पाए । त्यतिबेला गाबिस मा माध्यामिक बिध्यालय एउटा मात्रै भएको ले गाबिस का अरु प्राबी अनी छिमेकी गाबिस रत्नेचौर, भकिम्ली तथा बाग्लुङ जिल्लाको मालिका गाबिस बाट ६ कक्षामा थपिने नयाँ विध्यार्थीहरुले गर्दा कक्षामा निकै भिड हुने गर्दथ्यो तर जब टिका सर कक्षा मा आउनुहुन्थ्यो बातावरण एकदमै शान्त हुन्थ्यो । उहाको बोली यती प्रस्ट थियो कि जती सुने पनि सुनौ सुनौ लाग्दथ्यो अझ उहा रिसाउदा त छात्र छात्रा बिच चुइक्क को आवाज पनि आउने थिएन । आज कहिले काही सोच्छु डर भन्ने पनि एउटा नामको चिज रहेछ जो जिबन लाई सहि मार्ग मा हिडाउन पाईला पाईलामा आबस्यक हुदोरहेछ । हामीलाई चाहिने यस्तै डर उत्पन्न गर्न मा माहिर हुनुहुन्थ्यो टिका सर ।  त्यो बेला मा स्कुल मा हरेक शुक्रबार अतिरिक्त कृयाकलाप हुने गर्दथ्यो चार सदन बाँडेर बिभिन्न कार्यक्रमहरु हुने गर्दथ्यो । सांस्कृतिक कार्यक्रममा टिका सर गीत गाउँनु हुन्थ्यो कती मिठो हार्मोनियम बजाउनुहुन्थ्यो । "साइली धैरेनी बनमा" भन्दै गीत गाउँनु भयो भने सबैका हातले ताली बजाउन सुरु गर्थे । ति मनोरम द्रिस्यहरु लाई आज सात समुन्द्र पारी साहुको काम गर्दै सम्झिदा पनि एक किसिम को आनन्द आउछ अनी शरीरका सबै थकानहरु दुर हुन्छन ।  



  हाम्रो समाज अनौठो छ । आफ्नो लाई राम्रो र अर्कालाई नराम्रो भन्ने त पारीपाटी नै हो हाम्रो । अझ मास्टरहरु को काम को उचित मुल्य कही कतै भएको पाइदैन । केटाकेटी पढाए जस्तो गरेका छन घरको काम गरेका छन तलाब पचाएका छन भनेर कुरा काट्ने पनि हाम्रै समाज छ । यस्तो लाग्छ कि कही नपाएर नै मास्टर् को जागिर खान्छन मान्छेहरु , एक किसिमले हेला मा परेको छ मास्टरको जागिर । हेला पनि किन नहोस चौघेरा भित्र पुरना भवनहरु मा दैनिक कालो पाटिमा आफुलाई घोट्नु पर्छ । स्वास्थ्य चौकी को अहेबा ले जस्तो हुँदै नभएको रोग देखाएर आफ्नो प्राइभेट क्लिनिकको औषधी बेच्न , मालपोतका कर्मचारीले जस्तो जनताले तिरेको तिरो रकम पच गर्न वा बिउ नै बेचेर खल्ती मा पैसो हाल्ने कृषि बिभागको जस्तो जागिर हुँदै हैन मास्टर को जागिर, सरकार बाट तोकिएको न्युनतम ज्यालामा चित्त बुझाएर आफ्ना सपनाहरुलाई बचाउनु पर्ने कठिन जागिर भएकोले पनि होला मास्टर को जागिरलाई प्राथमिकतामा राख्दैनन मान्छे हरु । यती सम्मा कि गाउँमा जाड खाएर हल्लिने जडिया ले समेत मन लाएको गाली गर्न पाउने भनेकै मास्टर लाई हो । मास्टरको आफ्नो ब्याक्तिगत जिन्दगी नै हुँदैन जस्तो सोच्छन मान्छे हरु । कतै केही बोल्यो कि फलानो मास्टर, कुनै स्त्री सँग देख्यो कि फलानो मास्टर, साथीभाइ सँग बसेर यसो कसो मध्यपान गर्‍यो कि फेरी फलानो मास्टर ले यस्तो गर्‍यो हबाको गती मा गाउँ गन्हाउछ । गाउँको चौघेरा काटेर गयो भने पढाउन छोडेर यहाँ हल्लिएको छ भनेर गाली खानुपर्ने जागिर नै मास्टरको जागिर हो । सबै कुरा गर्नुपर्ने तर केही पनि गर्न नहुने हाम्रो समाजमा आफ्ना रहरहरु लाई लुकाएर राख्नु पर्छ मास्टर साब हरुले । टिका सर ले पनि शायद आफ्ना रहर लाई भाँडा बाट बाहिर उम्लिन दिनु भएन त्यसैले पनि उहाको ब्यक्तिगत छबी सधैं उज्यालो भएर रहयो । उहाका एउटा दाजु गाउकै प्रधान पञ्च अर्को दाजु भारतीय सेना का क्याप्टेन थिए मास्टर कै जागिर मा अल्झिरहनु पर्ने कुनै वाध्यत्मक परिस्थिती थिएन मन ले चाहेको भए युरोप अमेरिका पुग्न लाई वा अरु क्षेत्र मा जागिर खानलाई उहालाई कुनै दुबिधा थिएन तर उहाले चक र डस्टरलाई रोज्नु भयो सबै भन्दा ठुलो कुरा आफ्नो गाउघरलाई माया गर्नुभयो र अर्जुन माबी लाई कर्मथलो बनाउनु भयो । हामीलाई पढाउनु भयो सिङो गाउलाई सिकाउनु भयो आज उहाले पढाएका धेरै जना इन्जिनियर छन डक्टर छन, कती निजामती हाकिम छन र कती हामी जस्तै प्रदेस मा बसेर पल पल उहाको योगदानलाई सम्झिरहेका छौ । कहिले काही सोच्छु टिका सर सँग मात्रै नपढेको भए पनि आज यती शब्दहरु कोर्न सक्ने हैसियत को पक्कै हुने थिईन म । स्कुलमा हामीले उहाको नाम अमिताभ राखेका थियौ । अनुहार र कपाल कोराइको स्टाइल भारतीय कलाकार अमिताभ बच्चन सँग धेरै मेल खाने हुनाले हामी बिध्यार्थिहरुले राखेको कोड नाम थियो त्यो । मलाई उहाले सुसेल्दै गीत गाएको एकदमै याद आउछ । उहा निमाबी को प्र अ छदा बनाएको बगैचा सरस्वती मन्दिर निकै आकर्षक थिए, धौलागिरी हिमालको मनोरम द्रिस्य हेर्दै त्यो बंगैचामा फुल्ने हरुको सुगन्ध मलाई अहिले पनि ताजा स्मरण बनेर आउछ तर अहिले को बिकसित अर्जुन उच्चमाबिले ति सबै संरचना ध्वस्त बनाइसकेको छ ।  

 देश राजनैतिक संक्रमणमा पुग्दा शिक्षा क्षेत्र जोगिने भन्ने सबालै हुँदैन । अर्जुनमाबी मा पनि शिक्षकहरु को गुट उपगुट नभएको पनि पक्कै होइन । द्वन्दकाल मा दुई चार जना शिक्षक लाई आर्मी पुलिस ले जेल हाल्ने सम्म को काम भयो । राजनैतिक् आबरणमा गाउलेहरु ले आ आफ्ना किसिम ले मास्टरहरुलाई बर्गिकरण गर्थे । भन्ने हरु ले टिका सर लाई राज्य पक्षको पनि भने , द्वन्दकाल मा भूमिगत रहेको माओवादी पार्टिले जनकार्बाही गर्ने सम्मको धम्की टिका सर लाई दिन्थ्यो रे भन्ने पनि सुनियो तर टिका सर को मुहार मा कहिले पनि हामीले त्यस्तो छलङ केही देखेनौ । निडर स्वभाबका धनी टिका सर आफ्नो काम र कर्तब्यमा सधैं अडिग रहिरहनु भयो त्यसैले पनि होला जती उहाँ प्रती टिकाटिप्पणी गरेर मान्छे हरु कुरा काट्दथे त्यती नै उहाको ब्यक्तित्व अग्लिएर जान्थ्यो । त्यसैले पनि हामी भुपु बिध्यार्थि, स्मस्त गाउले वा ज्यामरुककोट बासीको मनमा ससम्मान बास गर्न सफल हुनुहुन्छ आदरणिय गुरु टिका कार्की ज्यु । निमाबी देखी माबी हुँदै आज उच्च माबी हुनुमा टिका सरको धेरै योगदान रहेको छ अर्जुन उच्चमाबी मा। आज आफ्नो शिक्षण पेशा बाट सेवा निवृत लिनु भएको छ गुरुले तर हाम्रो मन मस्तिस्कबाट कहिले पनि निवृत हुनुहुन्न ।  बिदाइ मा लगाइने फुलमाला, गुनगान गाएर बोलिने दुई चार शब्द र राज्य ले दिने केही निवृत भत्ताले एउटा शिक्षकको सम्मान कदापी हुन सक्दैन । स्कुलमा उहाले लगाएको लगाब, चक डस्टर घोट्नलाई उहाले खर्च गरेको आफ्नो जिबन को उर्बर सक्ती र आफ्नो गाउ समाजको लागि दिएको योगदानको मुल्याङ्कन समस्त ज्यामरुककोटे हरु ले दिलको कुना कुना मा सम्मान राखेर गरेका छन आदरणिय गुरु टिका कार्की ज्यु लाई ।   

उहाको सेवा निवृत जिबन सुन्दर रहोस स्वस्थ्व रहोस अब उहाँकै अगुवाईमा हाम्रो समाजले केही गती लिन सकोस । आदरणीय गुरु ! हजुरलाई सत्सत् नमन, सत्सत् प्रणाम टक्राउछु यो सात समुन्द्र पारी मरुभुमिको देश बाट ।  

   

No comments: